Logo

प्रचण्डले सक्रियता बढाएपछि बुढानिलकण्ठमा देउवासँग ओलीको गम्भीर वार्ता



काठमाडौं, २६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कांग्रेसको समर्थनमा सत्तारोहणको तयारीमा रहेका ओली आज (बुधबार) साँझ देउवा भेट्नको लागि बुढानिलकण्ठ पुगेका हुन् । उनी आज महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लिएर बुढानिलकण्ठ पुगेका थिए । देउवा पत्नी आरजु राणा र रमेश लेखकसहित निवासमा थिए ।

उनीहरुबीच मन्त्रालयको भागबण्डामा गम्भीर ढंगले कुराकानी भएको बताईएको छ । यसअघि दुई दलबीच सत्ता सहकार्यको सहमति भएको बेलामा कांग्रेस र एमालेले क्रमशः १० र ९ मन्त्रालय लिने सहमति भएको कुरा बाहिर आएको थियो । अहिले दुई तिहाई पुर्याउनको लागि साना दललाई पनि साथमै लिनको लागि पनि आज देउवा र ओलीले मन्त्रालय कम लिने तर साना दललाई पनि साथमा लिएर जाने समझदारी गरेको बताईएको छ ।

उता, प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा ब्युँताउनेगरि बालुवाटारमा सक्रियता बढाएका छन् । बालुवाटारको छलफलमा एकीकृत समाजवादीका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालदेखि नेकपाका महासचिव नेत्रविक्रम चन्दसम्म सहभागी थिए । यस्तै, बालुवाटारको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवपनि मिसिएका थिए । प्रधानमन्त्री दाहालले ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि प्रयास गरेको चर्चा छ ।

तर, दाहालले भने आफूलाई ओलीले धोका दिएको भन्दै संसद्बाट विश्वासको मत लिन असफल भए संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनको लागि आह्वान होस भन्ने चाहेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भएको खण्डमा नयाँ सरकार कुन धाराअन्तर्गत बन्छ भन्ने विषयमा संविधानविद्हरुको पनि धारणा बाझिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले भने प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन असफल भए धारा ७६ को ३ अनुसार नयाँ सरकार गठनको लागि आह्वान हुने भनेको छ । तर, कांग्रेस र एमाले दुवै दलका नेताहरुले भने संविधानको धारा ७६ को २ अनुसार नै सरकार गठन हुने भनेका छन् ।

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने तय भएको छ । अहिले कांग्रेस र एमाले भने नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । दुवै दलले नयाँ सरकारमा कस्तो टिम पठाउने भन्नेसम्मको छलफल थालेका छन् । तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा ओलीलाई प्रधानमन्त्री हुन नदिनको लागि लागिपरेको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्