Logo

कांग्रेस नेता गौतमको प्रश्नः ठूलो दलले नै ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि माओवादीलाई के आपत्ति ?



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यक्तिगत नाफा, घाटा छाडेर मुलुकलाई केन्द्रविन्दुमा राखी एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिएको बताएका हुन् । कांग्रेस–एमालेबीचको समझदारी इमानदारितापूर्वक अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

‘केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुहुन्छ । फाइदा र नाफाको कुरा छाड्नुस्, मुलुकलाई केन्द्रविन्दुमा राखेर सोच्ने हो । व्यक्तिगत फाइदा, घाटाको कुरा आफ्नो ठाउँमा छ । हामीहरु एउटा समझदारीमा गइसक्यौं । हामी आफ्नो समझदारीमा इमानदारितापूर्वक अगाडि बढ्छौं,’– उनले भने ।

अहिले संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेको स्मरण गराउँदै उनले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आफूहरु तयार भएको अवस्थामा माओवादीले आपत्ति जनाउनुको कुनै औचित्य नरहेको बताए । उनले माओवादीमा एमाले अध्यक्ष ओलीप्रति बायसनेस देखिएका उनको टिप्पणी छ । कांग्रेस–एमालेसहित अन्य दललाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउने लक्ष्य रहेको बताउँदै उनले माओवादीले यस विषयमा धेरै झमेला गर्न नहुने बताए ।

‘ठूलो पार्टी कांग्रेस हो । एमाले अध्यक्षको नेतृत्वमा सरकार बनाउने भनेर कांग्रेसले निर्णय गरिसक्यो, संसदीय दलले निर्णय गरिसक्यो । अब त्यसमा धेरै बखेडा झिक्नुपर्ने, केपी ओलीजीलाई रोक्नुपर्ने के आवश्यकता छ ? केपी ओलीप्रति एकदम बायसनेस देखिन्छ । हामी माओवादीलाई पनि धेरै टाढा राख्न हुन्छ भन्ने पक्षमा छैनौं । राष्ट्रिय सरकार बनोस् भन्ने मनशाय हो । माओवादीका साथीहरुले अनावश्यक झमेला गर्नु उचित हुँदैन । आम जनतामा छाएको निराशालाई आशामा फेर्नुपर्यो नि,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्