Logo

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जना यात्रु सवार रहेको अनुमान



काठमाडौं, असार २८ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थलमा रहेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए। पहिरोले अवरुद्व सडक खुलाउन करिव चार घण्टा लाग्ने अनुमान गरिएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको छ । आज विहान ३ बजे आसपास बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्