Logo

राष्ट्रपतिले संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनको आह्वान गर्नुपर्छ, दायाँबायाँ र छेडछाड गर्ने काम भए जनताले स्विकार गर्दैनन् : प्रभु साह



काठमाडौं, २८ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अबको नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार गठनको लागि आह्वान हुनुपर्ने बताएका छन् । नयाँ सरकार गठनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नै आह्वान गर्नुपर्ने र यसबाट दायाँबायाँ गर्न नहुने साहको भनाई छ ।

उनले भने,‘यो भन्दा अगाडि हामीले संसद्को एउटा कार्यकाल व्यतित गरेका छौं । ०७४ पछिको प्रतिनिधिसभाको एउटा अभ्यास एकचोटी स्मरण गर्न भन्छु । कम्तिमा एमाले र केपी ओलीजीले त त्यो नैतिकता नराख्दा हुन्छ । संसद्लाई जब अदालतले पूनस्र्थापना गरिसकेपछि त्यो क्याविनेटमा म पनि थिएँ। ओलीजीले राजीनामा दिनुभयो र तेस्रो दफामा गएर ठूलो पार्टीको हिसाबले उहाँ प्रधानमन्त्री बन्नुभयो । त्यतिवेला उहाँको विरुद्धमा बाहिर बहुमत थिएन र ? यदि केपीजीको बाहिर बहुमत थियो भने उहाँले ठूलो दलको हैसियतमा राष्ट्रपतिबाट कसरी प्रधानमन्त्री बन्नुभयो ? राष्ट्रपतिको त्यही नजिर होईन ? विद्यादेवी भण्डारीले जो नजिर स्थापित गर्नुभएको छ । अहिलेको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पनि त्यही गर्नुपर्छ अनिमात्र देशले सही दिशा पाउँछ । त्यसैले म रोष्ट्रमबाट भन्न चाहन्छु–यसमा दायाँबायँ र छेडछाड गर्ने काम भयो भने जनताले स्विकार गर्दैन् ।’

आजको प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । साहले नेपालमा जनादेशअनुसार गठबन्धन बन्न नसकेको र ठूला दलले पटक पटक जनादेशविपरित गठबन्धन गरेर जनतामाथि धोकाको राजनीति गरेको पनि आरोप लगाए । उनले अहिले देशमा लोकतन्त्रको असली अभ्यास नै नभएको आरोप लगाए ।

ठूला दलले निर्वाचनमा एउटा प्रतिबद्धता गर्ने गरेको र अहिले सरकार बनाउँदा अर्कै काम गरेको उनको आरोप छ । कांग्रेस र एमाले दुई ठूला दल नै मिलेर सरकार बनाएपछि चुनाव गराउनुको के अर्थ ? भन्दै प्रश्न गरे । दुई ठूला दलले जनादेश र जनमतप्रति अपमान गरेको आरोप लगाए ।

संविधान संशोधन गर्छु भन्नेहरुले अहिलेसम्म देशमा यस्तो कुकर्म भएको भनेर गल्ती महशुस गर्नुपर्ने उनको माग छ । उनले जनता अहिलेजस्तो राजतन्त्र भएको बेलामा लाचार नभएको विगत स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्