जनकपुर, ३० असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेटका सम्बन्धमा उठेका सवालबारे आवश्यक छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको जानकारी गराएका छन् ।
उनले समितिको जिम्मेवारी निर्धारणका लागि मुख्यमन्त्री सतिशकुमार सिंह र जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिए । यहाँ जसपा, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको बजेट सच्याउनुपर्ने मागसहित यही असार १६ गते मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।यही विषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो ।