Logo

उपसभामुखको राजीनामा नै सत्ता पक्षको बटमलाईन, सिता गुरूङलाई उपसभामुख बनाउनेगरि गृहकार्य थालियो



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा नै माग्ने तयारी गरेको छ । पार्टीको बैठक राखेर रानाको राजीनामा माग्नेगरि कांग्रेस नेताहरुले तयारी गरेका छन् । उपसभामुख पदको चरम दुरूपयोग गरेको (नेपाली युवाहरुलाई भिसाको लागि डेट लिन गरेको पत्राचार) निश्कर्षसहित कांग्रेसले उनको राजीनामा माग्न लागेको हो ।

विश्वस्त सूत्रका अनुसार सभापति शेरबहादुर देउवाले समेत यो विषयमा गम्भीर चासो राखेका छन् । देउवानिकट सांसद रामहरि खतिवडाले समेत उपसभामुख रानाले राजीनामा दिनुपर्ने आवाज उठाएका छन् । उनले आफू नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत रानाको विषयमा उजुरी परेकोले छलफल गरिने जानकारी गराईसकेका छन् ।

स्वयम रानाले पनि उक्त विवादबारे मुख खोलेकी छिन् । सभामुख बन्नुअघि राना आवद्ध रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत रानाको उक्त पत्राचारबारे सभामुख देवराज घिमिरेसँग सोधीखोजी गरिसकेको चर्चा छ । सभामुख घिमिरेले पनि रानासँग उक्त विषयमा छलफल गरेको बुझिएको छ ।

प्रमुख सत्तारुढ दलले उपसभामुख रानाको राजीनामा माग्नेगरि रणनीति बनाएका छन् । कतिपयले सत्तापक्षले धेरैअघिको विषय अहिले आएर जानी बुझिकन उठाउनुले उपसभामुखबाट रानालाई हटाएर सत्तानिकट उपसभामुख ल्याउन खोजेको पनि भनेर चर्चा गरेका छन् । संवैधानिक परिषद्मा सत्ताअनुकुल संख्या बनाउनको लागि पनि उपसभामुखलाई हटाउनुपर्ने उनीहरुको बाध्यताबारे चर्चा चलेको छ । यद्धपी यसमा सत्यता नरहेको सत्ता पक्षका नेताहरुको दाबी छ ।

अहिले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत छैन् । विपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पष्कमल दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र उपसभामुख राना एक ठाउँमा उभिने अवस्था रहने भएपछि सत्तापक्षले उपसभामुखलाई हटाउनको लागि यो विषय उछालेको भन्ने चर्चा छ ।

कतिसम्म भने आईतबारसम्म रानाको राजीनामा माग्नेगरि सत्ता पक्षको तयारी छ । र, रानाको राजीनामालगत्तै उक्त पदमा कांग्रेसबाट निर्वाचित सांसद सिता गुरुङलाई अघि सार्ने सत्ता पक्षको तयारीबारे अहिलेदेखि नै गाईंगुईं चलिरहेको छ । अहिले नै उपसभामुखको राजीनामा नआईकन अर्को उपसभामुखको खोजी र नाम नै तय गरिएको र त्यसबारेमा छलफल भएको हो वा होईन भन्ने कुराको पुष्टि हुन अझै एक साता कुनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्