Logo

रवि लामिछानेले आफैंलाई खुइल्याइसके, पुराना दलभन्दा पनि बढी अनियमितता र भ्रष्टाचारमा फसेका छन्ः सीपी मैनाली (भिडिओसहित)



काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफैंलाई खुइल्याइसकेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापति लामिछाने सहकारीको स्क्याम, भ्रष्टाचार र अनियमिततामा फसेको बताएका हुन् ।

नेता मैनालीले रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र रास्वपाले नै पठाएको उपसभामुख इन्दिरा रानाबारे टिप्पणी गर्दै उक्त पार्टी राष्ट्रिय पनि नरहेको र स्वतन्त्र पनि रहेको टिप्पणी गरे । उनले उपसभामुख राना मानव तस्करीमा संलग्न रहेको बताए । रास्वपा खुइलिसकेको बताउँदै उनले अहिले माओवादीसँग सहकार्य गरेर सत्ताको ट्रेनिङ लिइरहेको टिप्पणी गरे ।

‘रवि लामिछानेले त आफैंलाई खुइल्याइसके । उनी सहकारीको स्क्याममा फसेका छन् । पुराना दलको पछि लागेर पुराना दलभन्दा पनि एक किलोमिटर अगाडि गएर उनी अनियमितता र भ्रष्टाचारमा फसेका छन् । नेता त्यस्तो भएपछि पार्टी कस्तो होला ? उनीहरुले पठाएको उपसभामुखको हालत देखिहाल्नुभयो । मानव तस्करीको मुद्दामा फस्नुभएको छ । अब स्वर्णिम वाग्लेको कुरा सुन्नुस् । यस्ता राष्ट्रपतिहरुको नेतृत्वमा भएको त्यो पार्टी कुनै ठीक हुन्छ । न त्यो राष्ट्रिय हो, न त्यो स्वतन्त्र हो, न त्यो जिम्मेवार राजनीतिक पार्टी हो । त्यसको कुरै छाड्दिउँ । यिनीहरुको सिद्धन्तको भेउ नपाएको कारण केही सप्रिन्छन् कि भनेको थिए ।उनीहरु यति चाँडै खुइलिएर गए, अहिले आएर उनीहरु सत्ताको ट्रनिङ गर्न माओवादीतिर लागेको छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्