Logo

ओली सरकारमा मन्त्री भएकाहरुमाथि रवि लामिछानेले उठाए प्रश्न, विनोद चौधरीले बालकोटमा गीत गाएपछि आशंका लागेको टिप्पणी



काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमालेबीचको सत्ता सहकार्यको संकेतले आफूहरुलाई झस्काएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको आफूमाथिको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले प्रधानमन्त्री ओलीको राजनीतिक त्यागप्रति सम्मान रहेको बताए ।

उनले भने,‘उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग र बलिदानप्रति हामीले कञ्जुस्याँर्ई नगरिकन सम्मान गरेका छौं । अहिलेपनि सम्मान छ । तर, सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नु भएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छाला जुत्ताको जग्गाको अनुसन्धान चलिरहेको हुँदाहुँदै गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंकाको विषय बन्यो । त्यसपछि मन्त्रिपरिषद् बन्यो । जहाँ जहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थी प्रकरणको पूनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो, संसद र देशलाई राम्रासँग थाहा छ । अनि प्रश्न उठ्यो । हामीले बालमन्दिरको विषय उठायौं । त्यहाँपनि पुरस्कार ? बालमन्दिरको विषय उठाईरहँदा मन्त्रिमण्डलमा कस्तो सदस्य जानुभयो, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो । सभामुख महोदय, मैले यो कुरा भन्नैपर्छ । त्यो मात्रै होईन, स्काउटको विषय हामीले उठायौं, फेरि पनि मन्त्रिमण्डल हेर्यौं, जहाँ जहाँ हामीले प्रश्न उठाएका छौं । त्यहाँ त्यहाँ पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’



प्रतिक्रिया दिनुहोस्