Logo

कांग्रेस र एमालेको सत्ता-सहकार्य देशको लागि घातक छ : प्रभु साह (भिडिओसहित)



काठमाडौं, ६ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको सत्ता–सहकार्य देश र जनताको लागि घातक रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कांग्रेस र एमालेको सहकार्य हाम्रो देशमा बढ्दो संकटको अभिव्यक्ति हो । यो सहकार्यले देशलाई अझै संकटमा लैजान्छ भन्ने मेरो बुझाई हो । हामी झलभझली २०६१ सालको इतिहासलाई सम्झौं, शेरबहादुर देउवाजीको सरकारमा एमाले गयो, जनताले कसरी दुःख पाए भन्ने कुरा हामीले बुझेकै छौं । संविधानसभा भयो, कांग्रेस र एमाले मिले । नेपालमा गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहलाई राष्ट्रपति हुनबाट रोक्नुभयो। संविधानसभालाई कसरी विफल पार्नुभयो ? र, खिलराज रेग्मीसम्म पुर्याउनुभयो । त्यो हामीले बिर्सिएका छैनौं । दोस्रो संविधानसभा भयो, तपाईंहरु मिल्नुभयो । कस्तो संविधान बनाउनुभयो भन्ने कुरा तपाईंहरु आँफै अभिव्यक्त गरिरहनुभएको छ । देशलाई दुःख दिने, जनतालाई निराश बनाउने सबै कुकर्म तपाईंहरु मिलेरै गर्नुभएको छ । आज संविधान संशोधनको नाटक उचित छैन् । पहिला त्यसको जिम्मा लिनुपर्छ ।’ कांग्रेस र एमालेले अहिलेसम्म गरेको अपराधको जिम्मा लिनुपर्ने उनको भनाई छ । उनले देशमा राजनीतिक अस्थिरताको खेल कांग्रेस र एमालेको स्वार्थमा भैरहेको दाबी गरे । कांग्रेस र एमालेले अहिलेपनि छद्यमभेषी राजनीति गरेको आरोप लगाए ।

उनले कांग्रेसका जिम्मेवार नेताहरुले नै सदनमा केपी ओली नेतृत्वको सरकारको पालामा गिरिबन्धुको नीतिगत भ्रष्टाचार भएको भनेर बोलेको स्मरण गराउँदै आज ओलीलाई नै प्रधानभमन्त्री बनाएकोमा प्रश्न उठाए । ओलीले पनि आफ्नो संसदीय दलको बैठकमा ७० विघा कांग्रेसले बेचेर खाएको भनेर आरोप लगाएको उनले स्मरण गराए ।

उनले भने,‘संसदीय दलको बैठकमा ओलीजीले ७० विघा नेपाली कांग्रेसले बेचेर खायो भनेको छ, फेरि नेपाली कांग्रेसलाई सत्तामा ल्याईरहनुभएको छ, जनताले कसरी विश्वास गर्छन् ? अघि यहाँ तपाईंले भ्रष्टाचार गर्दैनौं र सहन्नौं भन्नुभयो, नेपाली कांग्रेसलाई जग्गा खायो भन्नेलाई कसरी च्याप्नुभएको छ ? गिरिबन्धुको केसमा सम्माननीय प्रधानमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ, यो विषयमा नाम जोडेर १० चोटी आईसक्यो । सर्वोच्च अदालतले भनेको छ कि यो नीतिगत भ्रष्टाचार हो । जहाँ जहाँ भ्रष्टाचारको विषय उठेको छ, त्यो विषय स्पष्ट गरिदिनुपर्छ ।’

सांसद साहले नेपालमा सरकार फेरबदल भएसँगै विदेश नीतिको विषयमा कुरा उठेको सुनाए । उनले भने,‘नेपालमा सरकारपिच्छे विदेश नीतिका कुरा आउँछन् । कहिले उत्तर त कहिले दक्षिण ढल्किएको कुरा आउँछ । अहिले जुन ढंगको हस्तक्षेप बढिरहेको छ, यसमा मलाई चिन्ता छ । हाम्रो विदेश नीति कस्तो हुन्छ ? यो सरकारले विदेश नीतिलाई सन्तुलित गर्छ कि गर्दैन् ? अहिलेको सम्माननीय प्रधानमन्त्री जुन जुन बेला प्रधानमन्त्री बन्नुभएको छ त्यो बेलामा भारतसँगको सम्बन्ध उतारचढाव रहेको कुरामा हामी सबै जानकार छौं । अब भारतसँग सम्बन्ध कस्तो रहन्छ ? यो सबैको चासोको विषय छ । हामीले यही संसद्मा सर्वसम्म्त ढंगबाट पारित गरेको चुच्चे नक्शा कार्यान्वयन हुन्छ कि हुँदैन् ? सम्माननीय प्रधानमन्त्रीज्यूले एमालेको सरकार आएपछिमात्रै कार्यान्वयन हुन्छ भन्नुभएको छ, अब एमालेको सरकार आएको छ, त्यो चुच्चे नक्शा कार्यान्वयन हुनुपर्छ । हाम्रो नेपाली भूभाग नेपालले पाउनुपर्छ । कसरी पाउँछन् ? त्यसको विधि पनि बताईदिनुहोस, नेपाली जनता त्यसमा आश्वस्त हुन चाहन्छन् ।’ उनले नेपाल र भारत सरकारको पहलमा बनेको इपिजीले तयार पारेको प्रतिवेदन कहिले भारतले बुझ्छ ? र कहिले कार्यान्वयनमा जान्छ ? भन्ने विषयमा जनताले जान्न चाहेको पनि बताए ।

रामको जन्मभूमिको बारेमा प्रधानमन्त्री ओलीले पटक पटक बोलेको विषयमा स्पष्ट पार्नपनि आग्रह गरेका छन् । उनले भने,‘सबैभन्दा बढि चर्चाको विषय अयोध्याको पनि रहेको छ । जहिलेपनि नेपालको प्रधानमन्त्री इण्डिया जाँदा अहिलेको सम्माननीय प्रधानमन्त्रीले कुनै न कुनै कार्यक्रममा अयोध्या नेपालमा छ । इण्डियाले बनावटी (नक्कली) अयोध्या खडा गरेको छ भनेर भन्नुभएको छ । हामी चाहन्छौं उहाँ प्रधानमन्त्री भएको बेलामा यो कुरा तथ्यगत ढंगले हामी पुष्टि गरौं । नेपाललाई हामी ठूलो लाभदायी बनाउन सक्छौं । हामीले साँच्चिकै गर्नको लागि बोलेको हो कि बोल्नको लागि मात्रै हो ? यहाँ आएर बोल्नुपर्छ । बाहिर बोलेरमात्रै हुँदैन् ।’ उनले गलत संविधान बनाएकोले देश बिग्रिरहेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्