Logo

विप्लवका कार्यकर्ताद्वारा जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई ज्यान मार्ने धम्की



काठमाडौं,१० साउन । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई आफूलाई नेकपा विप्लवको विद्यार्थी संगठनले भौतिक कारबाहीको धम्की दिएको छ । संगठनको सचिवालय सचिव बताउने कपिल सीले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएको हो ।

साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराएका छन् । धम्कीका क्रममा सीले ‘प्रधानसम्पादक श्रेष्ठ र उनकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएको महासंघको भनाइ छ ।

त्यस्तै सोही दिन दिउँसो सानेपाको धोबिघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित आएका एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यालयका रहेका सबै कर्मचारीलाई धम्क्यार ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको महासंघले जनाएको छ ।

‘समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो’ महासंघले भनेको छ ‘पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको सम्मान गरी यस किसिमका गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ’ ।



प्रतिक्रिया दिनुहोस्