Logo

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै



काठमाडौं, साउन १५ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिन अघि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

यसअघिको एमाले–माओवादी गठबन्धन तोडिएर संघमा कांग्रेस–एमालेको समीकरण बनेपछि बागमती प्रदेशमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् । कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।

बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्