Logo

मनरो डक्ट्रिनको विषयमा प्रश्न उठेपछि सांसद वाग्ले बोले, अलिकति गोरखाली राष्ट्रवादको रगतको अंश म मा पनि छ



काठमाडौं, १५ साउन । रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले एमाले र कांग्रेस सांसदहरुले मोनरो डक्ट्रिनबारे उठाईएको विषयमा आफ्नो धारणा राखेका छन् । उनले आफू देशको हितमा बहस पैरवी गर्ने मान्छे भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विदेशमन्त्री जयशंकरसम्म नेपालको हितको विषयमा कुरा गरेको दाबी गरे । उनले आफूले जयशंकरलाई नेपाललाई लगाएको नाकाबन्दी भारतको ऐतिहासिक भूल हो भनेर भनेको पनि स्मरण गराए ।

यस्तो छ सांसद वाग्लेको धारणा

हिजो यस गरिमामय सदनमा मेरो नाम नै लिएर एउटा अपव्याख्या र लाञ्छनाको खेदजनक अभ्यास भयो । त्यसो गर्न तोकिएको समयभन्दा ५ मिनेट ४० सेकेण्ड समय दिईएको छ । घडी होईन विषय हेरेर सभामुखज्यूले मलाई पनि न्याय गर्नुहुनेछ भन्ने आशा गरेको छु । एक जना भाई छन्, डा. पुकार मल्लले एकचोटी निम्तो पठाउनुभयो, उहाँले अहिले दायित्व अभियान चलाउनुभएको छ । युवा नेतृत्व, सुशासन र उद्यमशिलतामा उहाँले अभियान चलाउनुभएको छ । दाई, एउटा जेफर सोनियन लञ्च आयोजना गरेको छु, आईदिनुपर्यो भन्नुभयो । के रहेछ यो जेफर सोनियन लञ्च भनेर मैले गुगल गरेर हेरें, अहिले मोनरो डक्ट्रिनबारे गुगल गरेर रातारात विज्ञहरु निस्किराखेका छन्, मोनरो डक्ट्रिन नै उच्चारण गर्न नसक्नेहरु रातारात विज्ञ भएको मैले देखिरहेको छु, के रहेछ जेफर सोनियन लञ्च भनेको भन्दा एउटा टेबुल हुनेरहेछ, १०, १२ जना बस्ने रहेछन्, एकचोटी एक जनाले मात्रै बोल्ने, अरुले सुन्ने र गहन विषयहरुमा समिक्षा हुने, अमेरिकाका एक जना विद्धान राष्ट्रपति थोमस जेफरसनले आफ्नो मोन्टेचेलो भन्ने घरमा यस्तोखालको प्राज्ञिक बहस गराउने रहेछन् । एउटा नाम हो, एउटा परिवेश थियो । एउटा ऐतिहासिक प्रसंगपनि हो, जेफरसनियन लञ्च भन्दैमा स्वर्गबाट जेफरसन आएर यहाँ भान्सा चलाउने त होईन नि । त्यसैले यो अलिकति कन्टेक्सट र नुआन्स बुझ्यौं भने हामीले एउटा चियाको कपमा तुफान ल्याउन खोजिरहेका छौं कि एउटा अतिरञ्जनाको खेती गर्न खोजिरहेका छौं कि ? वा तथ्य र यथार्थमा टेकेर बहस गरिरहेका छौं कि भन्ने कुरा आँफै स्वयमसिद्ध हुन्छ । जेफरसनपछि म्याडिसन आए । जेम्स मोनरो पाँचौ राष्ट्रपति बने । उनले २ सय वर्षअगाडि ७ समुन्द्रपारि एउटा भिन्न काल र परिस्थितिमा एउटा विदेशी नीति ल्याएका थिए, जसको सान्दर्भिकता सक्किसकेको छ । मोनरो डक्ट्रिन आज सान्दर्भिक छैन् । तर, त्यसको मर्म चाहीँ सान्दर्भिक छ । प्रासंगिक छ । त्यसको मर्म के हो भने सबै उदयीमान शत्ति mराष्ट्रहरुले आफ्नो छिमेक नीतिमा चासो राख्दछन् । आफ्नो प्रभाव क्षेत्र, आफ्नो स्पेयर अफ इन्फ्ल्युन्स कि फ्रेज यही हो, उनीहरुले यसबारेमा हेक्का राखेका हुन्छन् । भारतको घोषित नेवरहुड फष्ट पोलिसी छँदैछ, जसलाई नेपालले अनर गरेको छ । चीनको वान चाईना पोलिसीलाई हामीले अनर गरेका छौं । बास्तवमा चीनको जनवादी गणतन्त्र जन्मनुभन्दा दुई वर्ष अगाडि नै ताईवान लखेटिएका चाङकाईले अपनाएको ११ वटा धर्सोले सिमांकन गरेको आफ्नो स्पेयर अफ इन्फ्ल्युन्स आज मलेसिया र ब्रुनाईसम्मपनि चीनको दाबी रहेको छ । सकेको बेला नेपालले पनि गरेको थियो । जेम्स मोनरोको पालामा यहाँ भीमसेन थापा हुनुहुन्थ्यो । भीमसेन थापा थापाकाजीहरुको पुख्र्यौली गोरखाको बोर्लाङ, म बुंकोटको, वल्लो डाँडा पल्लो डाँडा, तीन डाँडापारि पृथ्वीनारायण शाह, अलिकति गोरखाली राष्ट्रवादको रगतको अंश खोज्ने हो भने अलिकति अंश म मा पनि छ । रुस र युक्रेनको जडपनि त्यही नै हो । त्यसैले सक्नेले आफ्नो प्रभाव जमाउन खोज्छ । रियल पोलिटिक्स भनेको यही हो । दुई हजार वर्षदेखि राइज एण्ड फलको ग्रेट पावरको हामीले रोमन, ओटोमनदेखि लिएर पोर्चुगिजदेखि ब्रिटिशसम्मको अभयवहरु हेर्दापनि त्यो आँफै इतिहासमा जगजाहेर भएर बसेको छ । अब २१औं शताब्दीमा हामी एशियाली शताब्दीमा हामी जाँदैछौं । चीन र भारतको उदय, विगत ३५ वर्षमा यति नाटकीय ढंगले भएको छ । पर्यटन, पुँजी, सहुलियतपूर्ण वित्त, संनिकटता पूर्वाधारमा नेपालले लाभ लिनुपर्दछ । यस्तो राष्ट्रियता क्राफ्ट गरौं कि उनीहरुको उन्नयनबाट हामीले लाभ लिन सकौं । तर, राईजिङ पावरहरुको केही भल्नरेविलिटिज हुन्छन् । उनीहरुका विराट एस्पेरिसेन्सहरु हुन्छन् । ती रेडलाईन्सहरु हामीले अनर गर्यौं भने विन विन आउटकममा हामी जान सक्छौं । रास्वपाले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ । अघि यहाँ आधिकारिक धारणाको माग भैरहेको थियो । नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान र विश्वभरि फैलिएका नेपालीहरुको सामूहिक सामथ्र्य र एशियाको उदाउँदा भूराजनीतिक महत्वलाई आत्मसात गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै रास्वपाको अभिष्ट रहनेछ भनेर स्पष्ट राखिएको छ । त्यसैले विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझेपनि बुझ पचाउने र डिस्टोर्ड गर्ने र हाक्काहाक्की झुठो नै बोलेर पञ्चायतकालमा कांग्रेस र कम्युनिष्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । अहिले रास्वपाका युवा सांसदहरु हेर्नुहोस, २१ जनामा हामी १९ जना ५० वर्षभन्दा मुनि छौं । एउटा युवा शक्ति छ, विदेशमा पढेका र अनुभव हाँसिल गरेका, अब यिनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन त सक्नुहुन्न, अक्षमताको आरोप त लगाउन सक्नुहुन्न, पञ्चायतकालिन स्मरण गर्दै अराष्ट्रिय तत्वतिर भाष्य निर्माण गर्न खोजिँदैछ, त्यो खेदजनक छ। त्यसलाई हामी डटेर सामना गर्छौं । राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल रहने थिएन । चीन ३३ वर्ष अगाडि ३३३ डलरबाट १३ हजार डलर प्रति वर्ष आयमा पुगेको छ । नेपाल १८५ बाट गएर १३०० मा गएर अड्किएको छ । १०औं लाख युवाहरु बाहिर गएका छन् । चरम नैराश्यता छ । यो सबै कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईंहरुले नेपाललाई त्यहाँ पुर्याउनुभयो ? हामी छिमेकी मित्रराष्ट्रहरुको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै आर्थिक लाभ लिने हाक्काहाक्की सम्वाद गर्ने आँखामा आँखा जुधाएर कुराहरु राख्ने, प्रधानमन्त्री नरेन्द्र मोदीजीले यहीँ बोलेर जानुभयो, १० वर्ष अगाडि। मैले २ वर्षअघि मोदीलाई एचआईटी, हाइवे, इनफोरमेशन, ट्रान्सपोर्टको विषय उठाएँ, यसले गति लिन सकेनन नि भनेर सोधें । विदेशमी जयशंकरलाई मैले नाकाबन्दी लगाएर भारतले हिस्टोरिक ब्लण्डर गरेको छ भनेर भनें । चीनका मन्त्रीहरुलाई नक्शा फिजाएर हु वानान लाईन देखाएर एयर कनेक्टिभिटीमा हामी चुक्यौं भनेको छु । अर्को महिना १२ सदस्यीय रास्वपाका डेलिगेशन लिएर जाँदैछु । चिनियाँ नेतृत्वसँग आमनेसामने बहस गर्छु । हामीलाई मध्यरातमा खुफिया एजेन्सीहरुका प्रमुखहरुलाई बोलाएर गोप्य मन्त्रणा गर्नुछैन् । कुनै नदी नालाका सन्धीहरु देखाएर कथित राष्ट्रवादको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नुपनि छैन् । हामी नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाल्न आएका छौं । अरुको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरु त्याग्दै, असाधारण कर्ममा गएर देखिन्छ । मेरो आग्रह छ–नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने स्ट्रम्यान बनाएर झुट बोलेर यसलाई पन्छाउन सकिन्छ कि भनेर दुस्साहस कसैले नसोच्नुहोला । यसको लागि जुन नैतिक उचाई र वैचारिक बल चाहिन्छ, त्यो सायदै कम मानिसहरुमा छ । तपाईहरुसँग राष्ट्रलाई हित गर्ने विषयमा घण्टौं कुरा गर्न म तयार छु । आजको २१औं शताब्दीमा नेपाललाई उन्नतिको बाटोमा हिँडाउने सोच र विचार छ ।



प्रतिक्रिया दिनुहोस्