Logo

विश्वासको मत नलिई संसद्लाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने मनस्थितिमा मुख्यमन्त्री सोडारी



काठमाडौं, साउन १७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने भएका छन् । सङ्घीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री सोडारीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने कुरा प्रदेश सभा सचिवालयलाई लेखिएको पत्रमा उल्लेख छ । मुख्यमन्त्रीको आग्रहअनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गरेका छन्।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रको एक गरेर १५ मत मात्रै देखिन्छ ।

उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ । यद्यपि मुख्यमन्त्री निकट स्रोतका अनुसार उनले संसद्लाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने सम्भावना पनि छ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार अब यस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने छ । तर कांग्रेसले कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्