काठमाडौं, साउन १७ । राष्ट्रिय युवा संघ नेपाल, अन्तरजिल्ला विशेष प्रदेश कमिटीले एक महिने रक्तदान अभियानअन्तर्गत काठमाडौंको सुकेधारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रमा प्रमुख अतिथि संगठनका इन्चार्ज तथा पूर्वमन्त्री महेश बस्नेत, विशिष्ट अतिथी संगठनका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्षहरु कृष्णहरी के सी ,पुष्पराज श्रेष्ठ ,रमेश तिवारी, विशेष प्रदेशका इन्चार्ज डिल्ली लिङ्देन लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष थेबेले समाज रुपान्तरणको अभियानमा युवा संघ सदैव लाग्ने र विभिन्न रचनात्मक तथा शृजनात्मक माध्यम बाट युवा संघ सधैं अघि बढ्ने बताए । रक्तदान मात्र नभएर विभिन्न ढंगका समाजमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरु निरन्तर रुपमा युवा संघले ल्याउने समेत उनको भनाई छ ।
रक्तदान कार्यक्रममा १३३ जना रक्तदाताहरुले रक्तदान गरेको र सबै रक्तदाताहरुलाई अन्तरजिल्ला विशेष प्रदेशले सम्मान गरेको आयोजक विशेष प्रदेशका अध्यक्ष सुजन घिमिरेले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपालले निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । एक महिने अभियानकै क्रममा हिजो मात्र युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । यसअघि राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश कमिटीले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । युवा संघले एक महिने बृक्षारोपण अभियान पनि निरन्तर चलाइरहेको छ ।