देउखुरी (दाङ), १८ साउन । यहाँको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् ।
बाल क्लबका सदस्यहरुले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् । मुक्त कम्लरी विकास मञ्चले यसअघि देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विसं २०७९ साउन २४ गते विद्यालयमा बाल क्लब गठन भएपछि मञ्चको उक्त कार्यक्रमलाई बाल क्लबको अभियानले थप सहायता प्रदान गरेको छ ।
गढवा गाउँपालिका–५ बाँकेकी सरस्वती परियार विद्यालयमा गठित बाल क्लबको अध्यक्ष हुन् । उनले विसं २०८० मा एसइई परीक्षा दिएको हो । एसइई परीक्षा सकिए पनि उनी प्रत्येक महिना विद्यालयमा हुने बाल क्लबको बैठकमा सहभागी छन् । बाल क्लबमा आबद्ध भएपछि सिकेको जीवन उपयोगी सीपलाई अरू साथीहरुमाझ पु(याउने काम गर्दै आएको छ ।
बालविवाह, प्रजनन स्वास्थ्य, नेतृत्व विकासका बारेमा जान्ने बुझ्ने कामलाई विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीलाई सिकाउने गरेको उनले बताइन् । मनिषा चौधरी पनि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छन् । उनी क्लबको कोषाध्यक्ष हुन् । बाल क्लबमा आबद्ध हुनुभन्दा पहिले उनलाई सबै सामु आफ्नो नाम भन्न डर लाग्थ्यो । अहिले सबैसामु ढुक्कसँग बोल्न र आफ्ना कुरा राख्नसक्ने भएको छ ।
बाल क्लबले किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन र त्यसले पार्ने असरका बारेका खुलेर एकआपसमा कुरा गर्ने गरेको उनले बताए । साथीलाई कुनै समस्या आई लागेमा सहयोग गर्ने गरेको चौधरीको भनाइ छ ।
“बालविवाहले किशोरकिशोरीमा पार्ने शारीरिक र मानसिक असरका बारेमा छलफल हुन्छ । विद्यालय सरसफाइ प्रत्येक साता गर्ने गरेका छौँ । विद्यालयमा सिकेका कुरा घरपरिवारमा छलफल गर्ने गरेका छौँ,” मनिषाले भनिन् । छोरा र छोरीबीच भेदभाव गर्नु हुँदैन हरेक स्थानमा समान सहभागिता दिनुपर्छ भन्ने कुरा घरपरिवार र समाजमा चेतना फैलाउने काम उनीहरुले गर्दै आएका छन् ।
२५ सदस्य रहेको बाल क्लबले गरिरहेको कामबाट धेरै खालका सकारात्मक परिवर्तन हुँदै गएको मुक्त कम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रम ‘फिल्ड मोटिभेटर’ निमा चौधरीले बताइन् । विद्यालय पढ्दै गरेका कतिपय किशोरकिशोरीले बालविवाह गर्ने गरेकाले यसको रोकथामका लागि बाल क्लबका माध्यमबाट निगरानी बढाएको छ ।
मुक्त कम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा उनीहरुमा आउने परिवर्तनसँगै उनीमा रहेको उत्सुकता मेटाउन बाल क्लबले सहयोगी भूमिका खेलेको बताइन् ।
समय समयमा मञ्चले तालिम सञ्चालन गरेर उनीहरुलाई सचेतना दिने गरेको छ । क्लब गठन भएयता बीचैमा पढाइ छोड्ने र कक्षामा अनुपस्थित हुने बालबालिकाको सङ्ख्यामा कमी आएको विद्यालयका प्रधानाध्यापक हिमालप्रकाश अधिकारी बताउँछन् । विद्यालयमा बाल क्लब गठन भएपछि विद्यार्थीहरुको पढाइलेखाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता बढेको उनको भनाइ छ । रासस