Logo

काभा महिला भलिबल : आज इरानसँग खेल्दै नेपाल



साउन २० । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपालले इरानसँग खेल्दैछ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ सवा ५ बजे हुने हुने खेलमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिने उच्च लक्ष्यसहित मैदान उत्रने छ । यसअघि शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।

इरान पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ ।लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान ५ अंकसहित तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ ।नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा हिजो भारतलाई ३–१ को सेटमा हराएको थियो ।

इरानले पनि हिजै भएकोे खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरान भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्