(सिराहा) बस्तीपुर, २१ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सचिव डा. वीरेन्द्र प्रसाद महतोले विकास निर्माणको काममा सबै दल, नेता तथा कार्यकर्ताबीच हातेमालो हुनुपर्ने भन्दै राजनीतिकरण गर्न नहुने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न नगरपालिकाको भ्रमण र जनतासँगको गुनासो सुन्ने क्रममा उनले यस्तो धारणा राखेका छन् । हिजो (आइतबार) कर्जन्हा नगरपालिकामा रहेको उत्तरायणीमा श्रावण मेला (साउने मेला) भर्न आएका भक्तालुहरुको स्वागत तथा मेलास्थलको निरीक्षण गरेका सांसद महतोले आज कर्जन्हा नगरपालिका, कल्याणपुर र मिर्चैया नगरपालिकाका विभिन्न स्थानमा जनतासँग अन्तरक्रिया गरेका हुन् ।
सो क्रममा उनले जनताका गुनासो सुन्नुको साथै निर्माणाधिन विकास आयोजनाको कार्यप्रगतिको बारेमा जानकारी लिएको उनका सहयोगी रुकेश कुमार साहले जानकारी दिए ।
सो क्रममा उनले विकास निर्माणको काममा सबै दल, नेता तथा कार्यकर्ताहरु एक ठाउँमा उभिनुपर्ने र कुनैपनि किसिमको राजनीतिकरण गर्न नहुने धारणा राखेका थिए ।
पूर्व-पश्चिम राजमार्ग स्तरोन्नती कार्यअन्तर्गत मिर्चैया सडक खण्डको पनि उनले निरीक्षण गरेका थिए । यसअघिपनि पटक पटक संसद्मा सो विषय उठान गर्दै आएका पूर्वमन्त्री महतोले छिटो काम गरेर जनतालाई भैरहेको सास्तीबाट मुक्ती दिलाउन सरकारसमक्ष माग गरे ।