भक्तपुर, २३ साउन । लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भने, “अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ ।” उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए । रासस