काठमाडौं, साउन २४ । भारत सरकारको सहयोगमा बनेको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको चार करोड २६ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण उक्त भवनको बुधबार भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । भारतीय दूतावासका अनुसार ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको हो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । ‘यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो,’ दूतावासले भने ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरिय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्ने दूतावासले जनाएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस सहयोग गरिसकेको छ ।
त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहारस्वरुप प्रदान गरेको थियो । एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिँदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ दूतावासको भनाइ छ ।