Logo

एमाले महासचिवको निशानामा साना दल, लगातार खरो टिप्पणी



काठमाडौं, २४ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेपालमा दुई दलीय शासन प्रणालीको पक्षधर नेता हुन् । उनी लगातार साना दलले सौदाबाजी गरेको भन्दै अब कांग्रेस र एमालेको कित्तामा ध्रुवीकरण हुनुपर्नेमा ोड दिँदै आएका छन् । पछिल्लो समयपनि उनले जनादेशमा दलहरू उभिनुपर्ने बताएका छन् । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटी पर्यटन व्यवसाय विशेष इलाका कमिटीद्वारा हिजो (बुधबार) आयोजित पार्टी प्रवेश, प्रशिक्षण, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त धारणा व्यक्त गरेका थिए ।

महासचिव पोखरेलले जनादेशमा उभिन नसक्ने हो भने फेरि जनताको बीचमा जानुपर्ने बताए । जनताले कुनै पनि हालतमा विभाजन नस्वीकार्ने बताउँदै एमाले बनाउने नै म हुँ भन्ने माधव नेपाललाई गएको निर्वाचनमा जनताले देखाइदिएको उनको भनाई थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको नाममा फेरि माधव नेपाललाई बोकेर एमालेलाई एक्लाउन खोजेपछि कांग्रेस र एमालेको समीकरण बनेको महासचिव पोखरेलले प्रष्ट पारे ।

उनले भने,‘साना दलले मुलुकलाई आफ्नो स्वार्थको लागि नचाउने परिपाटी सधैँका लागि अन्त्य गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिक स्थायित्व सुनिश्चितताका लागि आवश्यकता पर्दछ भने संविधान पनि संशोधन गर्ने, कानुन संशोधन गर्ने, साना दलको सौदाबाजीबाट मुलुकको राजनीतिलाई मुक्त गर्ने अठोटका साथ हामीले सहकार्य सुरु गरेका छौं, यसबाट व्यावसायिक क्षेत्रमा उत्साहित वातावरण सिर्जना भएको छ, मानिसको मनोबल बढेको छ ।’ उनले मुलुकमा हरेक क्षेत्रमा निराशा फैलाउने प्रयत्न भइरहेको र आशाले मानिसलाई अघि बढाउने र निराशाले समाप्त पार्ने विश्वास दिलाए । उनले भने,‘निराशा भनेको पतनको कारण हो ।’

देशमा स्थिरता र स्थायित्व दिन, संविधान संशोधन गर्न, निराशा चिर्न र देशलाई निकास दिन एमाले–कांग्रेस मिलेका उनको दाबी छ ।उनले भविष्यको यात्राका सन्दर्भमा भने दुई पार्टी लामो यात्राका प्रतिस्पर्धी भएको पनि बताए । प्रचारवादले कुनै पनि समस्याको निकास दिन नसक्ने बताउँदै महासचिव पोखरेलले कुनै पनि समस्याको समाधान नीतिगत र वैचारिक हिसाबले खोज्नुपर्ने बताऐ । file photo



प्रतिक्रिया दिनुहोस्