काठमाडौं, २४ साउन । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् । आज (बिहीबार) जंगी अड्डामा आयोजित एक समारोहबीच सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरिएको हो ।
सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गर्नु भएका प्रधान सेनापति महारथी श्री शर्मा मिति २०८१ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । नेपाली सेनाको प्रचलित परम्परा अनुसार उहाँ मिति २०८१ श्रावण २५ गतेबाट बिदामा बस्दै हुनुहुन्छ ।’
नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरू, रक्षा सचिव लगायत रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । साथै, उनले रथी सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाई समेत दिएका थिए ।