Logo

दरबारमार्गमा टुकुचा खोलामाथीको सडक भासियो, सवारी आवागमन ठप्प (फोटोहरु)



काठमाडौं, साउन २५ । दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ। महानगर प्रहरीका अनुसार टुकुचा खोला माथीको एकतर्फी सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाकै कार्यालय नजिक भ्वाङ परेको सडक टाल्न सडक विभागको टोली त्यसतर्फ जान लागेको जनाएको छ।

महानगरपालिकाका मेयर बालेन शाहले समाजिक सञ्जालमा सडकमा भ्वाङ परेको भिडियो सार्वजनिक गर्दै अझै केहि घरहरु टुकुचाको चपेटामा पर्दै जाने बताएका छन् । उनले भिडियो सेयर गर्दै फेसबुकमा लेखेका छन, ‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।

सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्