काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकारबाट बाहिरिएपछि पार्टीलाई चलायमान बनाउनेगरि सक्रिय भएका छन् । सरकारबाट बाहिरिएलगत्तै पदाधिकारी बैठक राखेका अध्यक्ष दाहालले आज स्थायी कमिटी बैठक डाकेका छन् । त्यसअघि पदाधिकारी बैठक नै बसेर स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने भनिएको छ ।
आजबाट सुरु हुने स्थायी कमिटी बैठकमार्फत नेताहरुलाई जिम्मेवारी सुम्पिने दाहालको योजना छ । पार्टी निर्माणको लागि अहिलेको समय गोल्डेन समय भएको निश्कर्षसहित दाहालले सक्रियता बढाएका छन् । पछिल्लो समय जिम्मेवारी नपाएको भन्दै जनार्दन शर्मालगायतका नेताहरु अध्यक्ष दाहलासँग रुष्ट रहेको बताईएको छ ।
यही मौकामा दाहालले शर्मालगायतलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिन लागेको जनाईएको छ । शर्माले संगठन विभागमा रुचि राखेका छन् । प्रचण्ड पदाधिकारी, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकसम्म पुगेर पार्टी निर्माणमा जुटिरहेका बेला कार्यकर्ताहरुमा पनि खुशियाली छाएको छ । लामो समयसम्म सत्ताको राजनीतिमा लहसिँदा पार्टी जनताबाट टाढा हुँदै गएको कार्यकर्ताहरुको गुनासो थियो । अब भने अध्यक्ष प्रचण्ड आँफैले जनतामाँझ पुग्ने घोषणा गरेका छन् । file photo