Logo

जनतालाई सचेत र जागरुक बनाउँदै भक्तपुरमा सञ्चालित विकास संरक्षण तथा प्रवर्द्धन अभियान



भक्तपुर, २७ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा विकास संरक्षण तथा प्रवर्द्धन अभियानले तिव्रता पाएको छ । आफ्नो घर छेउछाउ आफैले विकासको संरक्षण र प्रवर्द्धन गरी दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ यही साउन १७ गतेदेखि सुरु भएको अभियानले तिब्रता पाएको हो । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमनन्त्री महेश बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाद्वा संयुक्त रुपमा शुरु गरिएको अभियान अन्तरगत प्रत्येक शनिवार दुई घण्टा विकासको संरक्षण तथा प्रवर्द्धनमा सामाजिक कार्य हुँदै आएको छ ।

अभियानले जनतालाई सचेत र जागरुक बनाइरहेको अभियान्ता दिनेश थापाले बताए । ‘हप्तामा दुई घण्टा आफ्नो गाउँ आफै बनाऔं भन्ने लक्ष्यका साथ वडा नं।. ७ का सम्पूर्ण विकास आयोजनाका संरक्षण तथा प्रवर्द्धन गर्ने महान् सामाजिक कार्यको शुरु गरेका छौं,’ उनले भने, ‘यो अभियान वडा भरि नै सञ्चालन हुनेछ र आगामी दिनमा नगरपालिकाभर लैजानुपर्छ । विकास हामीले तिरेको करेले सरकारले गर्छ तर त्यसको संरक्षण र सम्वद्र्धन भने हामी स्थानीयवासीले नै गर्नुपर्छ । सरकारलाई सहयोगीको भूमिका खेल्नुपर्छ ।’

राजनीतिक आस्थाका कारण विकासलाई समेत विगार्ने, भत्काउने तथा संरक्षण नगर्ने परम्परालाई तोड्दै सचेतनामूलक उक्त अभियानले सामाजिक चेतनाको व्यापक विकास गर्ने बताइएको छ । ‘विकासमा इगो हैन, दिगो बनाउने जिम्मेवारी हामी जनताको पनि हो । राजनीतिमा प्रतिष्पर्धा होला तर विकासमा सवैको ऐक्यवद्धता हुनुपर्छ । तसर्थः हामीले राजनीतिभन्दा माथि उठेर यो अभियान शुरु गरेका हौं ।’, अभियान्ता थापाले भने।

विकासमा जनताको प्रत्यक्ष सहभागिता रहेमा मात्र त्यस्ता विकासको संरक्षण तथा प्रवर्द्धन हुने विश्वासको साथ हरेक शनिबार विहान ७ बजेदेखी ९ बजेसम्म अभियान सञ्चालनमा रहेको उनले जानकारी दिए । अभियानको शुरुवातको दिन गुण्डु चोकको सडक र दोस्रो हप्ता गुण्डुको पुरानो बसपार्क नजिक रानी खोला दोभानदेखी तार्केश्वर मन्दिरसम्मको बर्षातको भेलले पुरिएको कलभट तथा कुलो खोल्ने कार्य र उक्त एरियाको सरसफाइ गरिएको थियो ।

अभियानले सडकको खाल्डाखुल्डी पुर्ने, खोला, कुलो तथा ढलको सरसफाई गरी भएका विकासलाई आफ्नो अपनत्व लिने गरी स्थानीयवासी जागरुक बनाउन थालेको छ । भदौ ३ गते रक्षाबन्धनलाई लक्षित गर्दै आगामी शनिवार अभियानको तेस्रो हप्ता वडा नं। ७ र ४ को सीमानामा पर्ने अनन्तकुण्ड, अनन्तझुला तथा अनन्तलिङ्गेश्वरमा सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त स्थानमा पूर्वमन्त्री बस्नेतले विकासका धेरै कार्यहरुको शुरुवात समेत गरेका थिए । उनले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अनन्तकुण्ड, अनन्तझुला, अनत्तलिङ्गेश्वर मन्दिरको प्रवर्द्धन, खुल्ला स्वीमिङ पुल, पार्क लगायतका विकासका ड्रिम प्रोजेक्टहरुको निर्माण प्रारम्भ गरेका थिए । उक्त स्थान विशेष त हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा समेत परिचित रहेको छ । पर्यटकीय क्षेत्रको उच्च सम्भावना बोकेको उक्त स्थानमा तीज, रक्षावन्धन तथा विभिन्न धार्मिक विश्वासका खास दिनहरुमा घुँईचो लाग्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्