Logo

राजनीतिमा प्रचण्ड पूर्णरुपमा असफल हुनुभयो, पार्टीको पनि सम्भावना सकियोः सीपी गजुरेल (भिडिओसहित)



काठमाडौं, २८ साउन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिकाका कारण जनतालाई उपलब्धी दिन नसकिएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डको भूमिकाको कारण जनयुद्धमा भाग लिँदा जनताले अपेक्षा गरेको उपलब्धी दिन नसकिएको बताएका हुन् ।

‘उपलब्धी चाहीँ वास्तवमा दिन नसकेकै हो हामीले । किनभने जनताले जनयुद्धमा भाग लिँदाखेरी हामीबाट धेरै ठूलो अपेक्षा गरेका थिए । त्यो हामीले दिनुपथ्र्यो, त्यो हाम्रो ड्युटी थियो । खास गरेर प्रचण्डजीहरुको भूमिकाले गर्दा हामीले दिन सकेनौं । पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारमा गयो, तर बदनाम भयो । नेताहरु बदनाम भए, जनताले घृणा गरे । सबै पार्टी उस्तै हुन्छन् भन्न थालियो,’– उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गजुरेल एउटै पार्टीमा रहेर जनयुद्धमा सहभागी थिए । उनले माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको आवश्यक्ता औंल्याए । प्रचण्ड असफल भइसकेको उनको टिप्पणी छ । प्रचण्ड तीन पटक प्रधानमन्त्री बनेपनि देश र जनतालाई केही उपलब्धी नभएको बताए । प्रचण्ड असफल भएपछि हटाउनुपर्छ भनेर पार्टीभित्रबाटै आवाज उठ्न थालेको उनको टिप्पणी छ ।

प्रचण्डले खुसीले पद नछाड्ने उनको दाबी छ । युवा पुस्ताले दवाब दिएको खण्डमा उनी केही समयमा नै नेतृत्वबाट बाहिरिने बताए । ‘खुसीले उनले नेतृत्व छोड्दैनन् । ठूलै जवाफ दिनुपर्छ । उनीहरु (वर्षमान र जनार्दन) ले लिन सक्छन् कि सक्दैनन् ? त्यो उनीहरुको कुरा हो । प्रचण्डजीको स्थिति अब खस्कियो भन्ने अनुमान लगाउन सकिन्छ,’– उनले भने ।

राजनीतिमा प्रचण्ड पूरै असफल भइसकेको र पार्टी अब फेरि सत्तामा जाने सम्भावना पनि सकिएको उनको टिप्पणी छ । उनले आफ्नो पार्टीसँग एजेण्डा र क्रान्तिकारी शक्ति रहेको बताए । उनले वर्षा सकिएलगत्तै आन्दोलन अगाडि बढाउने पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्