काठमाडौं, २८ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनको लागि यतिवेला सिरहामा छन् । उनी सिरहाको क्षेत्र नम्बर ४ मा प्रशिक्षणमा व्यस्त देखिएका छन् ।
आजमात्रै उनले आफ्नै पार्टीका सांसद डा. वीरेन्द्र प्रसाद महतोको गृहनगर कर्जन्हामा पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका हुन् । सो क्रममा उनले आफूहरुले पार्टी विभाजन गर्नुको औचित्यबारे पनि प्रकाश पारेका थिए ।
राईले उपेन्द्र यादव नेतृत्वको जनकपुरको एकता महाधिवेशनले पनि आफूहरुले लगाएको आरोप पुष्टि भएको बताए । उनले उपेन्द्र यादवमात्रै अध्यक्षमा निर्विरोध भएको र अरु पदाधिकारी ल्याउन नसकेकोमा आलोचना गरे ।
उनले एक जना मान्छेलाई अध्यक्षको कुर्सीमा राख्ने वा श्रीपेच लगाउनेमात्रै गरेर महाधिवेशन हुन्छ ? भन्दै उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालको महाधिवेशनको आलोचना गरे ।