साउन २९ । आज सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक संसदमा पेश हुँदैछ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
उक्त विधेयकका विवादित बुँदामा सहमति जुटाएको तीन दलीय कार्यदलले एका साता अघि आफूले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएका थिए ।
२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १७ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई हस्तान्तरण गरिएको प्रतिवेदन साउन २४ गते प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकबाट पारित भएको थियो ।