Logo

प्रतिनिधि सभाको बैठक बस्दै, टीआरसी विधेयकमा सैद्धान्तिक छलफल हुने



काठमाडौं, साउन ३० । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयक मंगलबारको बैठकमा कानुन समितिकी सभापति विमला सुवेदीले पेस गरेकी थिइन् । तीन ठूला दल (कांग्रेस, एमाले र माओवादी) ले कार्यदल बनाएर सहमति गरेपछि विधेयक समिति हुँदै संसदमा पारितका लागि पेस भएको हो ।

विधेयकमा आज सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफलपछि उक्त विधेयकलाई पारित गर्ने प्रक्रिया सुरु हुनेछ । समितिले दिएको प्रतिवेदनमा आधारित हुँदै संसदमा सांसदले आ–आफ्नो धारणा राख्ने छन् ।

विद्येयकमाथि सांसदले उठाएका प्रश्नमा सरकारले जवाफ दिनेछ । त्यसपछि विद्येयक विधेयक संघीय संसदको तल्लो सदनबाट पारित हुनेछ । तल्लो सदनबाट पारित भएको विधेयकलाई माथिल्लो सदन राष्ट्रिय सभामा पेस गरिनेछ ।

राष्ट्रिय सभाले पनि प्रक्रियागतरूपमा छलफल गर्दै पारित गर्ने व्यवस्था छ । दलहरूबीच सहमति भएर विधेयक अघि बढेकाले यसलाई समितिमा भने पठाइने छैन । राष्ट्रिय सभाबाट पारित भएपछि यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरिने छ ।



प्रतिक्रिया दिनुहोस्