Logo

स्थायी कमिटी बैठकको बीचमा माधव नेपालसँग प्रचण्डको गोप्य भेटवार्ता, पार्टी एकताको प्रस्ताव



काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् । पार्टीको स्थायी कमिटीको बैठक जारी रहेकै अवस्थामा प्रचण्डले माधव नेपालसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । उक्त भेटवार्तामा दुई नेताबीच पछिल्लो समय भएको मनमुटावको विषयमा खुलाखुलस्त कुराकानी भएको जनाईएको छ ।

सरकारको नेतृत्वमा रहँदा प्रचण्डले आफूहरुलाई पटक पटक धोका दिएको प्रसंग उठाएका माधवले आगामी दिनमा मिलेर जानुपर्ने प्रचण्डको प्रस्तावमा भने सकारात्मक जवाफ दिएका थिए । माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रचण्डले सो भेटमा माधव नेपालसँग तत्काल पार्टी एकताको प्रस्ताव राखेका थिए ।

नेपालले भने पार्टीभित्र छलफल गरेर निश्कर्षमा पुग्न सकिने धारणा राखेको बताईएको छ । पार्टीभित्र नेतृत्व परिवर्तनको बहस छेडिएको बेलामा प्रचण्डले भने वामपन्थीहरुबीचको एकतालाई प्राथमिकतामा राखेका छन् ।

माधव नेपालमात्रै नभएर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँगपनि पार्टी एकताकेन्द्रित छलफल गरेका दाहालले नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठसँग पनि एकता छिट्टै टुँगो लगाउने विषयमा छलफल गरेको उच्च स्रोतको दाबी छ । भदौको पहिलो साताभित्रै नेसपासँग एकता सम्पन्न गर्नेगरि दाहालले तयारी थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्