Logo

बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन व्यस्त प्रधानमन्त्री पत्नी राधिका



काठमाडौं, साउन ३२ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्। बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले सबैलाई पुस्तकालय बनाउनका लागि सघाउन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

ओलीले आज बिहान सामाजिक सञ्जालमा लेख्दै लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेको र राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारसम्म पुस्तक अटाउने बताएका छन्। साथै पत्नी राधिकाको सुझाव अनुसार त्यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्न आग्रह गरेका हुन्। प्रधानमन्त्री पत्नी राधिकाले लाइब्रेरी बनाउन हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि ओलीले उल्लेख गरेका छन्।

उनले लेखेका छन्,

पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास !

बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो ( यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ। राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ।’ लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ।

तपाईंहरु पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ।



प्रतिक्रिया दिनुहोस्