Logo

कांग्रेस–एमाले सत्ता समिकरणको बचाउमा शंकर पोखरेल, निराशा चिर्नेगरि काम गर्न निर्देशन



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा विद्यमान राजनीतिक अस्थिरतलाई चिर्नको लागि आफूहरु कांग्रेससँग मिल्न पुगेको स्पष्ट पारेका छन् । पार्टीको बाग्मती प्रदेश कमिटीको प्रदेशस्तरीय संयन्त्रको गठन तथा यसको पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएकोे स्पष्ट पारे । उनले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताए ।

उनले अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको र पार्टीको अबको ध्यान बलियो राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यसको लागि पार्टीको वैचारिक र सांगठानिक कामलाई अघि बढाउनुपर्ने उनले बताए ।

महासचिव पोखरेलले जनसङ्गठनहरू पार्टीका जग भएकाले तिनीहरूलाई चलायमान गराउनुपर्ने बताए । शहरीया मध्यम वर्गमा अस्थिरता र विचलन तथा अन्य मध्यम वर्गमा निराशा बढेकाले पार्टी सङ्गठनले त्यसलाई स्थिरता र आशामा परिणत गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिए ।

महासचिव पोखरेलले विकास निर्माणको काम र सङ्गठन निर्माणको कामलाई जोडेर अगाडि बढाउनुपर्ने बताए । राजनीतिमा नजोडिएको विकास निर्माणको कामले मात्रै सङ्गठन सुदृढ नहुने उनले प्रष्ट पारे ।

पार्टीमा युवाहरूलाई संगठित र आकर्षित गराउन नसके जीवन्त पार्टी नबन्ने पनि उनले बताए । युवालाई पार्टीमा जोड्न आकर्षक कार्यक्रम र योजनासहित जानुपर्ने उनको धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्