Logo

परराष्ट्रमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै 



काठमाडौं, भदौ २ । पराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन् । भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री देउवा चार दिने भारत भ्रमणमा आज त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री देउवाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

भ्रमणबारे भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह एकसाथ विज्ञप्ती जारी गरेका छन्। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरुले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ।

मन्त्री देउवामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोपत्र पठाउने योजना बनाएका छन्। मन्त्री भएपछि देउवाको पहिलो विदेश भ्रमण हो। उनी यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।



प्रतिक्रिया दिनुहोस्