Logo

म्याग्दी जिल्ला अदालतमा स्वचालित पेसी लागू



म्याग्दी (बेनी), २ भदौ । यहाँको जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएको छ । गत साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेसी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएकोे हो ।

स्वचालित पेसी लागू भएपछि कार्यसम्पादन छिटो, छरितो हुनाका साथै पेसी तोक्न सहज भएको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले बताए । उनका अनुसार अदालतमा दर्ता भएर अंश पुगेका मुद्दाहरू प्रणालीमा राखेपछि स्वचालित रूपमा पेसी चढ्ने भएकाले मुद्दाका पक्षविपक्षबीचमा पेसी तोक्दा हुने विवादको समस्यासमेत निरुपण भएको छ ।

अदातलले सुरु गरेको स्वचालित पेसी तोक्ने व्यवस्थाले न्यायलयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, वार्षिक लक्ष्यप्राप्तिमा सहज हुने अपेक्षा गरिएको अदालतका स्रेस्तेदार रेग्मीले उल्लेख गरे । अदालतले मुद्दाको विषय, प्रकृति र सम्पादन गर्नुपर्ने अवधिअनुसार वर्गीकरण गरेर पेसी हुने दिनसमेत निर्धारण गरेको छ ।

आइतबार बालबालिकासम्बन्धी, सोमबार र मङ्गलबार छ महिनाभित्र टुङ्ग्याउनुपर्ने, बुधबार एक वर्षभित्र र बिहीबार दुई वर्षभित्र टुङ्गो लगाउनुपर्ने मुद्दाहरु हेरिने जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिए । बालबालिकासँग सम्बन्धित र १८ महिना काटेका मुद्दाको हकमा प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले प्रणालीले सोहीअनुसार पेसी चढाउने गरेको उनले बताए

एक वर्षअघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेसी म्याग्दी जिल्ला अदालतमा पनि लागू गरिएको हो । न्यायपालिकाको रणनीतिक योजनाले सरल, सामान्य र विशेष गरेर मुद्दाको वर्गीकरण गरी सोअनुसार प्रणालीले मुद्दाको पेसी चढाउने गरेको न्यायाधीश पण्डितले बताए । यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीद्वारा तारेख र पेसी तोक्ने गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्