महोत्तरी, २ भदौ । सडक मानव र आश्रयविहीनको व्यवस्थापनका लागि निर्माण थालिएको ‘हाम्रो मायाघर’को सहयोगार्थ बर्दिबासमा आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
महायज्ञ सम्पन्न भएको चार दिनभित्रै शनिबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै शिवपुराण महायज्ञ आयोजक समितिले आयव्यय सार्वजनिक गरेको हो । गत साउन २१ देखि २९ गतेसम्म सञ्चालित महायज्ञमा दाताहरुबाट दुई करोड पाँच लाख नौ हजार तीन सय ३२ बराबरको नगद र जिन्सी प्राप्त भएको समितिले जनाएको छ ।
जिन्सीमा सिमेन्ट, इँटा र अन्य निर्माण सामग्री छन् । महायज्ञ सम्पन्न भइसकेयता पनि समितिलाई विभिन्न दाताले पछिल्ला चार दिनबीच चार लाख ६९ हजार एक सय ४६ नगद प्राप्त भएको महायज्ञ आयोजक समितिको आर्थिक उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी, महायज्ञमा ३० लाख ५० हजार चार सय ८२ खर्च भएको विवरण समितिले सार्वजनिक गरेको छ । यसमा मण्डप निर्माण, पन्डाल व्यवस्थापन, स्टेशनरी, विद्युत्, अतिथि आवास तथा भोजन, प्रचारप्रसार, सञ्चार, यातायात, पूजा सामग्री र भेटीसहितका खर्च शीर्षक छन् ।
बर्दिबास–२ मा निर्माण थालिएको हाम्रो मायाघरको गत बुधबार मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शिलान्यास गरेका थिए । सार्वजनिक गरिएको आयव्ययबाहेक प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले हाम्रो मायाघर निर्माणमा आवश्यक पर्ने ७१ हजार इँटा उपलब्ध गराउने प्रतिबद्धता जनाएको महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले बताए ।
यसैगरी, आयव्यय सार्वजनिकीकरण कार्यक्रममा उपस्थित रहेका दन्त चिकित्सक डा सुवास घिमिरेले हाम्रो मायाघर निर्माणमा एक करोड बराबरको सहयोगको समन्वय गर्ने प्रतिबद्धता जनाए । बर्दिबास–२ मा दाताहरुबाट प्राप्त पाँच कट्ठा १० धुर जग्गामा हाम्रो मायाघर निर्माण थालिएको छ । यसको निर्माणमा १० करोड ६९ लाख ४५ हजार खर्च हुने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।
अपाङ्गता तथा बालबालिकामैत्री बन्ने हाम्रो मायाघरका दुई भवन भूकम्प प्रतिरोधी र खानेपानी, बिजुली, शौचालयसहितका आधुनिक सुविधायुक्त हुनेछन् । दुईवटा भवनमा १२ कोठा हुने हाम्रो मायाघर समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको भनाइ छ । त्यसमा भोजनालय, अध्ययन, आवास, कार्यालय र बैठककक्षसहित छन् । भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने अध्यक्ष गौतमको भनाइ छ । निर्माण थालिएको हाम्रो मायाघरमा दुई सय आश्रयविहीनलाई राख्न सकिने गौतमले स्पष्ट पारे । रासस