Logo

गाजा युद्धविरामका लागि प्रयास जारी



तेलअभिभ, ४ भदौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविरामका लागि वार्ताका लागि मङ्गलबार इजिप्टतर्फ प्रस्थान गरेका छन् ।

सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार जानेछन् । कतारले इजिप्टसँग मिलेर १० महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ ।

इजरायली किबुट्ज समुदायले गाजामा बन्धक बनाइएका ७९ वर्षीय अव्राहम मुन्दरको मृत्यु भएको घोषणा गरेसँगै उनी तेल अभिभबाट इजिप्ततर्फ गएका हुन् ।

मुन्दरले महिनौँसम्म शारीरिक र मानसिक यातना भोगेको दावी गर्दै किब्बुट्ज समुदायले उनको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएको छ । उनको अपहरणमा सम्लग्न हमासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग उनको ग्रीष्मकालीन दरबार रहेको सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा कुराकानी गर्न अमेरिकी उच्च कूटनीतिज्ञ इजिप्ट गएका हुन् ।

अल–सिसीसँगको भेटपछि उनी कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

दोहा वार्तामा संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीचको खाडल कम गर्न राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको युद्धविरामको खाकामा हस्ताक्षर गर्न प्रस्ताव प्रस्तुत गरेको थियो ।

ब्लिन्केनले इजरायलले अमेरिकी प्रस्ताव स्वीकार गरेको र अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नराख्ने हमासको प्रतिक्रिया बुझ्न इजिप्ट र कतारसँग कुरा गर्ने बताएका छन् ।

ब्लिन्केनले सोमबार तेल अभिभमा भने, “यस क्षेत्रको शान्तिका लागि जतिसक्दो छिटो वार्ता हुनु र सम्झौता हुनु आवश्यक छ ।” “संयुक्त राज्य अमेरिका यस कामका लागि गम्भीर र प्रतिवद्ध रहेको छ,” उनले भने ।

ब्लिन्केनले सोमबार युद्धविराम प्रस्ताव ‘अन्तिम मौका’ हुन सक्ने बताएका थिए ।

उनले हमासले पछिल्लो प्रस्तावमा गरिएको संशोधनलाई सार्वजनिक रूपमा अस्वीकार गरेको र इजरायल यसै हप्ताको अन्त्यमा कायरोमा हुने बताएको नयाँ वार्तामा एक प्रतिनिधिमण्डल पठाउन तयार रहेको बताएका छन् ।

यद्यपि, हालैका वार्तामा इजरायलले हमासबाट कब्जा गरेको इजिप्टसँगको गाजा सीमा नियन्त्रणमा जोड दिनेलगायत नयाँ शर्तहरू उठाएको रिपोर्टहरू आएका छन् । हमासले इजरायलले एकपछि अर्को शर्त थप्दै गएको भन्दै यसरी वार्ता अघि बढ्न नसक्ने बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्