जुम्ला, भदौ ५। अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत गएराति आएको अविरलले कालीकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।
सो ठाउँमा आएको बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ । यी जोखिम ठाउँमा सडकको स्तरउन्नती सम्बन्धित निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका आम नागरिकले दुःख पाइरहेका छन् ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रु अलपत्रमा परेका छन् ।