Logo

अब लुटेरा र भ्रष्ट नेताहरूको अन्त्य हुनैपर्छ : प्रभु साह



कलैया, ६ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुट्नकै लागि बनेको दाबी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले आज मधेस बदनाम भएको उनले बताए ।

बाराको खुटुवा प्रसौनीमा आजपाद्धारा आज आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन र ठग्नका लागि मधेश सरकार र मधेशवादी दलका नेताहरुको पेशा नै बनिसकेको ठोकुवा गरेका छन् ।

‘छोरीलाई वितरण गरिने साईकल चोरेका छन् । दलितहरुको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेकाछन । बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिशन यी भ्रष्ट र चोर नेताहरुको पेशा भएकोछ’ आजपा अध्यक्ष साहले भने,‘भ्रष्टाचार र लुटमा पिएडी गरेका यि भ्रष्ट र चोर नेताहरुले मधेशको व्यापार गरेर मधेसलाई नै बदनाम गरिसकेका छन् ।’

किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरुले मधेसलाई समृद्ध बनाउँने काम गर्नै नसक्ने साहले बताए । ‘मानव विकास सूचांकमा तल रहेको मधेस जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवा सुविधासहितको जम्बो मन्त्रीमण्डल किन चाहियो ? मधेसलाई समृद्ध बनाउने, मधेसी युवालाई रोजगार दिने कुनै काम यिनीहरुले नगरी केवल लुटने हो र लुट मचाउनकै लागि लागेका छन्’ आजपा अध्यक्ष साहले भने ।

भ्रष्टाचारबाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाटने, लुटने, ठग्ने पेशा नै बनेको बताए । कुनै पनि सरकारको काम भनेको देश र जनताका लागि बिकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मचाएको उनले बताए ।

मधेसलाई समृद्ध बनाउने हरेक किसिमको सम्भावना यहाँ रहेको उनले बताए । तर त्यसलाई सदुपयोग गर्नुको साटो लुटको व्यापारमा मधेसवादी दलका नेताहरु लागेको आरोप उनले लगाए । ‘मधेस प्रदेशलाई देशको मोडेल प्रदेश बन्ने सम्पूर्ण सम्भावना हुदाहुदै भ्रष्ट नेताहरुका कारण नेताहरु नै बदनाम भएका छन्’ साहले भने ।

भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे । लुटेरा र भ्रष्ट नेताहरुको अन्त्य हुनै पर्ने बताउँदै उनले देश लुटने नेताहरुलाई राज्यले कारवाही गर्न नसकेकाले अब जनताले नै जनकारवाही गनुपर्ने बताए ।

‘भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरु विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’ साहले भने,‘भ्रष्टाचारीहरु अहिले सम्मानित भईरहेका छन तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउने अनि सम्मान गर्ने कामले देश कंगाल बन्दै गईरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु उठनैपर्छ ।’

आजपाको स्थानीय नेता गणेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्