तनहुँ, ७ भदौ । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ ।
उनले सोही अवधिमा आठ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिए । सो अवधिमा आठ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य थियो भने चार किलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा तीन दशमलव पाँच किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताए । उनका अनुसार आठ दशमलव पाँच किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा आठ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
इन्जिनियर शर्माले विगतका वर्षमा खसेका दुई ठूला पहिरामध्ये पृथ्वीराजमार्गअन्तर्गत साँखर पहिरा रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए । गोरखाको घ्याम्पेसालअन्तर्गत कोखे आहालेको पहिरा रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
सडक डिभिजन कार्यालयका लागि उक्त आर्थिक वर्षमा पुँजीगततर्फ रु ४३ करोड ४७ लाख बजेट विनियोजन भएकामा रु ३९ करोड बजेट खर्च भएको जनाइएको छ । कार्यालयमार्फत बिर्ता हुँदै भानु नगरपालिका–६ टुहुरेपसल–अर्चले भञ्ज्याङ–रम्घाटार– मनटेहटिया सडकका लागि रु चार करोड ५० लाख विनियोजन भएकामा ४० प्रतिशत भौतिक र ३५ प्रतिशत प्रगति भएको छ ।
श्रृङ्गपथ–गाईघाट–ऋषिङ–चापाकोट–गल्याङ सडकको पोखरीछापबाट कटहरे हुँदै मोहमी खण्डका लागि रु ५० लाख विनियोजन भएकामा शतप्रतिशत भौतिक र ९९ दशमलव चार प्रतिशत वित्तीय प्रगति भएको छ । खैरेनीटार–भिमाद–भूमरीघाट–कावासोती सडकका लागि रु तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।
भिमाद–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद रामपुर सडकका लागि रु तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ८६ प्रतिशत वित्तीय प्रगति भएको छ । नौबिसे–मुग्लिन–पोखरा सडकका लागि रु एक करोड ५० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ ।
बागीश्वरी मार्गका लागि रु दुई करोड ५२ लाख ६८ हजार विनियोजन भएकामा शतप्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै व्यास बुद्धर्सि मार्गका लागि रु ७० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सेतीगण्डकी पुलका लागि रु एक करोड ६६ लाख ४२ हजार विनियोजन भएकामा ९४ प्रतिशत भौतिक र ९४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । त्यस्तै त्रिशूली नदी पुलका लागि ८९ लाख ३० हजार बजेट विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । मस्र्याङ्दी नदीमा मोटरेबल पुलका लागि रु ८९ लाख ३० हजार विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
चालु आवका लागि ७३ करोड बजेट
इन्जिनियर शर्माका अनुसार सडक डिभिजन कार्यालयका लागि चालु आवमा रु ७३ करोड ८२ लाख ८३ हजार बजेट विनियोजन भएको छ । स्थानीय सडक पुल निर्माणका लागि रु दुई करोड ८० लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु ३२ करोड ६८ लाख ८३ हजार विनियोजन भएको छ ।
यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापनाका लागि रु एक करोड ३५ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि रु एक करोड ६२ लाख, सडक तथा ट्राफिक सुरक्षाका लागि रु ७० लाख र सडक बोर्ड नेपालअन्तर्गत रु सात करोड ९४ लाख विनियोजन भएको छ । रासस