Logo

बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकको शव लैजान भारतीय राज्यमन्त्री रक्षा खडसे आज नेपाल आउँदै



काठमाडौं, भदौ ८ । भारत सरकारले तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न र मृतकको शव लैजान युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेलाई आज नेपाल पठाउँदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे अहिले बिहान १०:३० बजे काठमाडौं आउन लागेकी छन् । उनको साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि नेपाल आउँदै छन्।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको छ । मृतक २७ जनाको आज बिहानैदेखि भरतपुर अस्पतालमा शव परीक्षण सुरु गरिएको छ।

दुर्घटनामा घाइते भएका १६ जनाको काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्