काठमाडौँ, १२ भदौ । काठमाडौँको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले ।
सधैँ जस्तै बिहानको खाना खाने समय उनीहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो ।
गीतकार निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तीज मनाउन पुगेका थिए । त्यस अवसरमा श्री पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल भएका थिए । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरुको मुहारमा खुसी छचल्किएको थियो ।
त्यस अवसरमा काठमाडौँ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरुका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए । उनले भने, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरुलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।”
सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु रहेका छन् । अधिकारीले भने, “यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ ।”
गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो । रासस