Logo

रवि लामिछानेसहित ५० जनाको बयान लिएको संसदीय विशेष समिति जुट्यो प्रतिवेदन लेखनमा



काठमाडौं, १२ भदौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको चरणमा जुटेको छ । समितिले सहकारी बचत रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जनासँग बयान लिइसकेको छ ।

सहकारी ठगी प्रकरणमा तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै नेपाली कांग्रेसले संसद् अवरोध गरेको थियो । कांग्रेसले संसद अवरोध कायमै राखेपछि संसदीय छानबिन समिति बनाएर अनुसन्धान थालिएको थियो ।

समितिलाई सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवम् वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने, समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने कार्यादेश तोकिएको थियो ।

समितिले अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेसहित ५० जनासँग बयान लिइसकेको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेको लामिछानेमाथि सहकारीको पैसा सो संस्थामा अवैध रुपमा ल्याएको आरोप छ । त्यस्तै, गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, आर्जन बचत तथा ऋण सहकारी संस्थाका दलबहादुर आले, सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका लक्ष्मीप्रसाद पाण्डे, मितेरी बचत तथा ऋण सहकारी संस्थाका कुम्मराज गुरुङ, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका धनबहादुर तामाङसँग बयान लिएको छ ।

त्यस्तै, हाम्रो ग्रुप अफ कम्पनी हर्वो इन्टरनेशनलका पुष्पराज पौडेल (पुरुष), हिमाल बचत तथा ऋण सहकारी संस्थाका विज्ञान राई, नेपाल वित्तीय बहुउद्देश्यीय सहकारी संस्थाका डा. तुलसीप्रसाद भट्टराई, क्यापिटल बचत तथा ऋण सहकारी संस्थाका रामचन्द्र शर्मासँग पनि बयान लिएको थियो ।

त्यस्तै गोर्खा बचत तथा ऋण सहकारी संस्थाका डम्बर बहादुर बम्जन, इमानसिंह राई, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका रामबहादुर गौतम, लालिगुराँसका सुरेन्द्र भण्डारी, शिवशिखरकी गीता शर्मा, कान्तिपुर र पशुपति सेभिङ्गका सिबी लामालगायतसँग बयान लिएको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्