काठमाडौं, भदौ १३ । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुँदैछ ।
केन्द्रीय कार्यालयको हिजो बसेको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने गरी कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।
मिसन ०८४ को अभियान अन्तर्गत एमालेले गत असारसम्म एकवर्षे विशेष अभियान चलाएको थियो । तेस्रो चरणको अभियानमा नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिइनेछ भने सचिवालय बैठकबाट ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाइएको छ।