Logo

प्रमाण खोई भनेका रवि लामिछानेलाई गगन थापाको जवाफ : ९ मिनेटमा चट् भनेको समितिमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था के ले आयो ?



काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा आफूहरुले तथ्य र प्रमाण दिएकै कारण छानबिन समिति बनेको र रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा उनले भने,‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो । त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि, त्यसको टिओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो, कम्पनीको नाम लेख्न लगाएको हो, अनि त्यो तथ्य र प्रमाणहरु हामीले दिएनौं होला र ? हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला ?’

उनले आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताए । उनले सो क्रममा समितिका सभापति सूर्य थापाको मेहनतको प्रशंसासमेत गरे । उनले प्रश्न गरे,‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’



प्रतिक्रिया दिनुहोस्