Logo

एमालेलाई माओवादी सचिवको जवाफः ‘जनताका छोराछोरीले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर नै इतिहासमा लेखिन्छ’



काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रतिनिधि सभाको हिजोको बैठकमा माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनेपछि एमाले–माओवादीका नेताबीच नोकझोक आज पनि जारी छ । प्रतिनिधि सभाको आजको बैठकमा माओवादीका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर नै इतिहास लेखिने बताए । उनले जनयुद्ध भन्न एमालेले कन्जुस्याईँ गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

‘जनयुद्ध जनयुद्ध नै थियो । जनआन्दोलन जनआन्दोलन नै थियो । मधेश, थरुहट र अरु न्यायपूर्ण जनताले चलाएका अन्दोलनलाई आज पनि सलाम छ । ती आन्दोलनका कारणले यो सदन बनेको हो । हजार वर्षसम्म पनि नेपालमा र संसारभरी कुनै विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेखिन्छ । यहाँहरुले यो शब्द कञ्जुस्याइँ किन गर्नुपरेको ?’ उनले प्रश्न गरे ।

साथै, उनले अनमिनको रेकर्ड मागेर एमाले सांसदहरुलाई दिन पनि सभामुखसमक्ष आग्रह गरे । अनमिनले प्रमाणित गरेर बाहिर निस्किएकाहरु जनताकै छोराछोरी रहेको बताउँदै उनले माओवादी विद्रोह जनयुद्ध नै रहेको दाबी गरे । ‘अनमिनको रेकर्ड मागेर माननीयहरुलाई सभामुखज्यूले दिनुहोला । अनमिनले प्रमाणित गरेका र बाहिर निकालिएकाहरु कसका छोराछोरी थिए ? जनताका छोराछोरी थिए कि थिएनन् ? जनताका छोराछोरीले लडेको युद्ध हो कि होईन ? मैले कसैलाई पनि उपदेश दिन खोजेको होईन, छाती ठूलो बनाउनका निमित्त अनुरोध गर्न खोजेको हो । हामी संगै अगाडि बढेका हौं । सडकमा संगै थियौं, जेलमा संगै थियौं । शब्दहरु प्रयोग गर्दा ख्याल गरेर प्रयोग गर्न म अनुरोध गर्न चाहन्छु,’– पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्