Logo

आज चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदै



काठमाडौं, भदौ १६ । प्रस्तावित १७ जना राजदूतको सुनुवाइ आजदेखि शुरु हुने भएको छ। त्यसका लागि अहिले बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

आजको सुनुवाइ समितिको बैठकमा विभिन्न चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसुचि रहेको छ। आज सुनुवाइका लागि चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा.शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई समितिको बैठकमा बोलाइएको छ ।

त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित पण्डित, मलेसियाका लागि तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाललाई सुनुवाइका लागि बोलाइने छ ।

त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने तयारी छ ।

यसअघि शुक्रबार बसेको समितिको बैठकले उजुरीकर्ताहरुलाई बोलाइएर प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल गरेको थियो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका विभिन्न मुलुकका लागि १७ जना प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेका छन्।



प्रतिक्रिया दिनुहोस्