Logo

भारतका लागि प्रस्तावित राजदूत डा. शर्माले पेश गरे कार्ययोजना



काठमाडौं, १६ भदौ । भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गरेका छन् । आज (आइतबार) समितिको बैठकमा डा. शर्माले आफ्ना कार्ययोजना पेश गरेका हुन् । उनले पेश गरेको कार्ययोजनामा सामान्यतर्फ सरकारले दिएको निर्देशनअनुसार काम गर्ने, उच्चस्तरीय भ्रमण र विशेषज्ञको आदान–प्रदानमा मद्धत गर्ने, द्धिपक्षीय संयन्त्रहरुको बैठक छिटो गराउने, नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरुसँगको साझेदारलाई बढवा दिने, उच्चस्तरीय फोरमहरुमा भाग लिइ नेपालको प्रचार गर्नेलगायत बुँदा समेटिइएको छ ।

त्यस्तै, उनले पेश गरेको कार्ययोजनामा पूर्वाधारतर्फ बिजुलापुरदेखि बर्दिबाससम्मको रेलमार्गको कामलाई तीब्रता दिन, रक्सौल–काठमाडौं रेल लिंकलाई अगाडि बढाउन, टनकपुर–महेन्द्रनगर लिंक रोड बनाउन, सिरसा, झुलाघाट र दार्चुलाको पुल निर्माण अगाडि बढाउन र भारतबाट आउने थप हवाइ मार्गको प्राप्तिका लागि प्रयत्न गर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी, व्यापार, विद्युत, लगानी, पर्यटनलगायतका क्षेत्रमा उनले आफ्नो कार्ययोजना पेश गरेका छन् । डा. शर्मा पहिलो कार्यकाल नसकिँदै राजदूतबाट फिर्ता बोलाइएका थिए । उनी पुनः राजदूतमा सिफारिस भएका हुन् । फोटाः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्