Logo

प्रचण्डले सरकार ढाल्ने प्रयत्न गरिरहनुभएको छः कांग्रेस नेता घिमिरे (भिडिओसहित)



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्ने प्रयत्न गरिरहेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले सरकार ढाल्न सक्नु, नसक्नु फरक कुरा भएपनि प्रचण्ड सरकार ढाल्ने प्रयत्नमा रहेको बताएका हुन् ।

‘संसदीय प्रजातन्त्रमा विपक्षी दल भनेको वेइटिङ गभर्मेन्ट हो । उसले वर्तमान सरकारलाई ढाल्ने र आफू सरकारमा जाने प्रयत्न गरिनै रहन्छ । अहिले कांग्रेस–एमालेको सरकार छ । त्यसलाई ढाल्ने प्रयत्नमा प्रचण्डजी हुनुहुन्छ । सक्ने नसक्ने अलग कुरा हो,’– उनले भने ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा छानविन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पूर्वाग्रह राखेर नफसाउने उनको भनाइ छ । कांग्रेसले कसैलाई पूर्वाग्रह राखेर फसाउँदा पनि नफसाउने र बचाउँदा पनि नबचाउने उनले बताए ।

‘रवि लामिछानेमाथि संसदीय सुनुवाइ समितिले छानविन गरिराखेको छ । यो २२ गतेभित्रमा रिपोर्ट आउँदैछ । सत्यतथ्यमा आधारित भएर रिपोर्ट प्रस्तुत हुन्छ । त्यो रिपोर्टले औंल्याएका कुराहरु कार्यान्वयनमा पनि आउँछ ।’ उनले भने, ‘रवि लामिछानेलाई कांग्रेसले फसाउँदा पनि फसाउँदैन, बचाउँदा पनि बचाउँदैन । सत्यतथ्यमा आधारित भएर, जे सत्य हो, जे तथ्य हो त्यसमा आधारित भएर कांग्रेसले कारबाहीको प्रक्रिया अगाडि बढाउन पर्ने हो भने बढाउँछ । कांग्रेसले पूर्वाग्रही भएर काम गर्दैन ।’



प्रतिक्रिया दिनुहोस्