Logo

राप्रपा सांसद् कार्कीको प्रश्नः गण्डकीमा मन्त्री पद नै लिलामीमा चढ्यो, यो के हो ?



काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको टिप्पणी गरेकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले राप्रपाले त्यही कारणले प्रदेश खारेजीको माग गरेको बताईन् ।

‘गण्डकी प्रदेशमा त मन्त्री पद नै लिलामीमा चढ्यो । यो के हो ? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेज गरौं, यो सेतो हात्ति नपालौं भनेको छ । हामीले यस्तो खालको गाइजात्रा हेर्नुनपरोस्,’– उनले भनिन् ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले मन्त्री पद विक्रीमा रहेको बताएका थिए । यसअघि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री समेत रहेका गुरुङले हिजो राजीनामा दिएका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिँदै यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए । उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । वन मन्त्रालय अन्य मन्त्रालयभन्दा सानो रहेको भन्दै उनले राजीनामा दिएर सरकारबाट बाहिरिए ।

त्यसपछि उनले मन्त्रालय विक्रीमा रहेको बताएका थिए । गुरुङले कांग्रेसलाई भए डेढ करोड र एमालेलाई तीन करोडमा मन्त्रालय दिनेसमेत बताएका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्