Logo

घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति



वीरगञ्ज (पर्सा) २४ भदौ । पर्साका जिराभवानी गाउँपालिका–४ का वृजालाल प्रसाद यादवलाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो ।

आफ्नो गाउँपालिकाबाट २५ किलोमिटर लामो दुरी तय गरेर वीरगञ्ज आउँदा एकातिर समयको खर्च र अर्कोतर्फ गाडी भाडाले आजित भएको थियो । अहिले उनकै घरदैलोमा इलाका प्रशासन कार्यालय, सुपौली सञ्चालनमा आएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायत कागजात बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

‘‘पहिला नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका कागजात बनाउन वीरगञ्ज धाउनुपर्ने समस्या थियो’’, उनले भने, ‘‘वीरगञ्ज जाँदा एक दिनको पूरै समय छुट्टाएर जानुपर्ने हुन्थ्यो । पैसा पनि त्यतिकै खर्च हुन्थ्यो । अब त हिँडेरै सेवा लिन पाइने भयो ।’’

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि जिराभवानी गाउँपालिका–४ स्थित इलाका प्रशासन कार्यालय, सुपौली पुनःसञ्चालनमा ल्याएसँगै वृजालाल मात्रै होइन, पर्साका जिराभवानी, जगरनाथपुर, पर्टेवा सुगौली र ठोरी गाउँपालिका सर्वसाधारणलाई नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायत प्रशासनिक कागजात बनाउन वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।

जिराभवानी गाउँपालिका महादेवपट्टीका रामविजय चौधरी पनि घरदैलोमा सरकारी कार्यालय आएकोमा हर्षित छन् । ‘‘अब त कम्तीमा साइकल चढेरै नागरिकता र पासपोर्ट बनाउन पाइने भयो’’, उनले भने, ‘‘पर्साको उर्खुमाउलो गर्मीमा कम्तीमा धेरै हिँड्नु त परेन नि ।’’

उनले वीरगञ्जमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन जाँदा मात्रै यातायात र नास्ता बापत् एक हजारभन्दा धेरै खर्च हुने अनुभव सुनाए । ‘‘अहिले त इलाका प्रशासन कार्यालयमा साइकल चढेरै आउन पनि सकिने भयो । कुनै कागजात छुटे पनि तुरुन्तै घरबाटै ल्याउन सकिने भएको छ’,’ उनले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सार्वजनिक सेवालाई जनतामैत्री बनाउन इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याएको बताए ।

‘‘हामीले सार्वजनिक सेवालाई विकेन्द्रीकरण गर्ने हेतुले इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याएका हौं,’’ उनले भने, ‘‘चार पालिकाबाट दैनिक एक सय ५० भन्दा धेरै सेवाग्राहीले आफ्नो घरआँगनबाटै सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’’

इलाका प्रशासन कार्यालय, सुपौली विसं २०७५ पुस ११ गतेदेखि सञ्चालनमा आएको थियो । तर, विविध कारण २०७९ सालदेखि सेवा स्थगित भएको थियो । स्थानीय प्रभु चौधरी थारु, बिन्दा देवि चौधरी थारु र रामकलिया देवी गुरो थारुले उपलब्ध गराएको एक कठ्ठा १७ धुर जग्गामा नयाँ भवन निर्माण गरेर इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जग्गादाता तीनै जनालाई दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरियो ।

संविधानसभा सदस्य जयप्रकाश थारु इलाका प्रशासन कार्यालय पुनः सञ्चालन भएसँगै सेवाग्राहीले सहज र सुलभ सेवा प्राप्त गर्ने बताउँछन् । पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीले संविधानको मर्म अनुरुप जनताको घरदैलोमा इलाका प्रशासन कार्यालय आउनु निकै सुखद् रहेको बताए ।

‘‘जनताको घरदैलोमा सिंहदरबार भन्ने कुरा यो कार्यालय स्थापना भएर केही हदसम्म भए पनि स्थानीयले अनुभूति गर्न पाएका छन्’’, उनले भने, ‘‘इलाका प्रशासन कार्यालय मात्रै होइन, मालपोत, नापीलगायत कार्यालय ल्याएर जनताको घरदैलोमा सरकारको अनूभूति दिलाउन जरुरी छ ।’’

ठोरी गाउँपालिकाका अध्यक्ष सुवर्ण श्रेष्ठले यस अघि पनि कर्मचारी नबस्ने समस्याले इलाका प्रशासन बन्द भएकाले आगामी दिनमा कर्मचारी अभाव नहुने वातावरण मिलाउन आग्रह गरे ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानोबाबु अधिकारीले इलाका प्रशासन कार्यालयमा एक जना अधिकृतसहित आठ जना कर्मचारी रहने जानकारी दिए । कार्यालय शाखा अधिकृतको नेतृत्वमा सञ्चालन हुनेछ । सहायक लेखापाल, तीन नायब सुब्बा, कम्प्युटरसँग सम्बन्धित प्राविधिक एक जना र दुई जना कार्यालय सहयोगी रहने जिल्ला प्रशासनले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्