Logo

सरकारलाई प्रभु साहको प्रश्न : राज्य चाहीँ घाटामा हुने अनि जनतालाई रुवाई रुवाई कर तिराउने ?



काठमाडौं, २५ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनताले सरकारलाई कर तिर्न नहुने बताएका छन् । प्रतिननिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले भने,‘जनताले सरकारलाई कर किन दिने ? मरिमरि कर दिएबापत सरकारबाट जनताले क पाए ? म सरकारलाई सोध्न चाहन्छु । जनताले त विकास र आफ्नो सेवासुविधाको लागि कर तिर्ने हो, तर जनताले अहिले देशमा लुट र ब्रम्हलुट देखिरहेका छन् । विनाश पाइरहेका छन् । दूध नदिने गाई अहिलेसम्म कसैले पालेको हामीले देखेका छैनौं । नेपाली जनताले दूध नदिने गाई किन पाल्ने ? हामी हेरिरहेका छौं कि सरकारका मातहतमा रहेका उद्योगहरु घाटामा छन् । सरकारी उद्योगहरु घाटामा छन् कि त बन्द भएका छन् ? जसले उद्योग चलाईरहेको छ, त्यसले सम्मान पाउनुपर्ने हो कि उल्टै दण्ड भोग्नुपर्ने ?’

सांसद साहले सरकारको उद्योग बन्द हुने र घाटा हुने तर निजी उद्योगहरुले कर तिर्नुपरेको सुनाए । उनले भने,‘कुन नैतिकताले सरकारले ती निजी उद्योगसँग कर लिन मिल्छ ? सरकारका मातहतमा रहेका संस्थान र केन्द्रहरु घाटामा हुने ? तर निजी उद्योगहरुले कर तिर्नुपर्ने ? सरकारले के नैतिकताको आधारमा अरुसँग कर लिन मिल्छ ? नेपाल एयरलायन्स घाटामा हुने, त्यो पनि सामान्य नभएर अरबौं घाटामा भएको छ । अनि निजी एयरलाईन्सहरुले कर तिर्नुपर्ने ? सरकारले कुन नैतिकताको आधारमा कर लिन्छ ? हामी सोध्न चाहन्छु ।’

उनले सरकारी अस्पतालहरुको हालतबारे पनि सुनाए । तर, निजी अस्पतालहरुले राम्रो गरेको र नाफा आर्जन गरेको उनको भनाई छ । उनले जनताले ५० भन्दा बढि किसिमका कर तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले नेपालमा महँगीपनि दिनानुदिन बढिरहेको र आफ्ना उत्पादनपनि महँगो रहेको बताए । यही कारण नेपाली उत्पादनले विदेशमा स्थान नपाएको उनको दाबी छ । उनले देशको अर्थतन्त्र धराशयी बनाउने कर प्रणाली आफूहरुलाई नचाहिएको टिप्पणी गरे । उनले देशमा विद्यमान आयात र निर्यातको असन्तुलन (ग्याप) भनेको नै नेपालमा भएको कर व्यवस्था भएको दाबी गरे ।

उनले भने,‘अनावश्यक कर थुपारेर हाम्रो उत्पादन महँगो बनाउने काम भयो । त्यो महँगोको कारण उद्योग तथा धन्दाहरु उठ्नै नसक्ने, सबै धराशयी हुने । मान्छेलाई कर तिर्न रुवाउने र तड्पाउने काम गर्यो । तर, सरकारले आफ्नो दायित्व केही पनि पूरा गरेन । राज्यसँग यत्रो प्राकृतिक स्रोत र साधन अनि आम्दानीको स्रोत हुँदाहुँदै पनि राज्य नै उल्टो घाटामा हुने परिपाटीको अन्त्य हुनुपर्ने साहको भनाई छ । उनले जनतालाई रुवाईरुवाई कर तिर्न लगाउने सरकारको आलोचना गरे ।

उनले भने,‘सरकारको व्यापार घाटामा छ भने जनताको पनि त्यही हालत होला नि । जनतापनि घाटामा छन् । अनि ती जनतालाई रुवाई रुवाई कर तिर्न लगाउने ? अनि मोजको संसार बसाउने काम गर्ने ? जनतालाई लुटेर बर्बाद गर्ने जुन स्थिति छ, त्यसलाई अन्त्य गर्न मेरो विचारमा सरकारलाई जुन नानाभाती कर (दुनियाँमा नभएका) कर छन्, ती कर हटाईनुपर्छ । ती हटाईएन भने अर्थतन्त्रलाई सुधार गर्न सकिँदैन् । सरकारले अनावश्यक कर हटाएन भने जनता अब कर तिर्न बाध्य हुने छैनन् ।’



प्रतिक्रिया दिनुहोस्